नेपाली राजनीतिका जननायक बीपी कोइरालाकी नातिनी बलिउड नायिका मनीषा कोइरालाको परिचय शनिबारदेखि 'सुश्री' बाट 'श्रीमती' मा बदलिने पक्कापक्की भएको छ ।
काठमाडौ, अषाढ ५ - नेपाली राजनीतिका जननायक बीपी कोइरालाकी नातिनी बलिउड नायिका मनीषा कोइरालाको परिचय शनिबारदेखि 'सुश्री' बाट 'श्रीमती' मा बदलिने पक्कापक्की भएको छ ।
३९ वर्षीया नायिका मनीषालाई शनिबार महाराजगन्जका उद्यमी ३३ वर्षीय सम्राट् दाहालले पत्नीका रूपमा भित्र्याउँदैछन् । अमेरिकाको टेक्सासबाट इन्डस्टि्रयल इन्जिनियरिङ र एमबीए पास गरेका दाहाल पञ्चेबाजाका साथ करिब ३ सय जन्ती लिई बनारसको कन्या महाविद्यालय पढेकी बेहुली लिन काठमाडौंको थली गाविसमा रहेको गोकर्ण फरेस्ट रिसोर्ट पुग्ने छन् । शनिबारै उनी बेहुली लिई महाराजगन्जस्थित घर फर्किनेछन् । वैवाहिक कार्यक्रमपछि उनीहरूको पहिलो रात बूढानीलकण्ठस्थित भाडामा लिइएको सिद्धार्थ कोलोनीमा बित्नेछ ।
बिहेको अघिल्लो दिन उनीहरूबीच शुक्रबार रिसोर्टमा हिन्दु विधिअनुसार स्वयम्बर सम्पन्न भयो । चक्रपथ मित्रपार्कबाट करिब ९ किलोमिटर दूरीमा रहेको रिसोर्टमा परिवारसाथ पुगेका बेहुलाले हरियो दुबोको माला साटासाट गरी टीका थाप्ने र लगाउने कार्य गरेका थिए । उनले मनीषाको देब्रे हातको साइँली औंलामा सुनको औंठी लगाइदिए भने बेहुलीले सम्राट्को दाइने हातको साइँली औंलामा औंठी लगाइदिएकी थिइन् । कडाइ गरिएको पहेंलो बुट्टेदार सारीमा सजिएकी मनीषा र सेतो सर्टमाथि कालो कोट पाइन्ट र टाइमा आएका सम्राट्लाई पुरेत रामचन्द्र घिमिरेले सँगै पलेंटीमा बसाई वैदिक कर्मअनुसार मन्त्र र मंगलवाचन गरेर 'छाप' लगाई आशीर्वाद दिएका थिए । स्वयम्बरको अन्त्यमा उनीहरूले एकअर्कालाई 'बुझ्ने,' मनका कुरा साटासाट गरेका थिए ।
कोइराला परिवारका तर्फबाट स्वयम्बरमा सहभागी पुरेत घिमिरेका अनुसार शुक्रबार साढे दुई बजेपछिको समयलाई साइत मानिएको थियो । बेहुलापक्ष ३ बजेमात्रै दर्जनभन्दा बढी साइपाटा बोकेर निजी गाडीमा रिसोर्ट पुगेको थियो । 'बेहुला-बेहुलीले माला साटासाट गरे, औंठी लगाइदिएपछि स्वयम्बर सकियो' विगत ६ वर्षदेखि कोइराला परिवारमा पुरेत्याइँ गर्ने लमजुङका ५२ वर्षीय घिमिरेले भने, 'कन्यादान र बेहुली बिदाइ शनिबार हुनेछ ।' स्वयम्बर समारोह करिब २ घन्टामा सकिएपछि कोइराला परिवारको आतिथ्यमा जलपानसहित पारिवारिक भोज गरिएको थियो । रिसोर्ट स्रोतका अनुसार भोजमा ५ सयभन्दा बढी सहभागी भएका
थिए । समारोहमा पञ्चेबाजा, नेवारीबाजा र लोकगीत बजाइएको थियो । भोजपछि बेहुला पक्ष बेलुकी ६ बजे घर -महाराजगन्ज) फिरेको थियो । तर कोइराला परिवार मन्डिखाटारमा रहेको घर कामदारको जिम्मामा छाडेर रिसोर्टमै बस्यो । उनीहरू बेहेलीको बिदाइपछि शनिबार मात्रै मन्डिखाटार फर्किनेछन् । मनीषा भने बिहीबारैदेखि रिसोर्टमा बस्दै आएकी छन् । स्वयम्बरका लागि कोइराला परिवारका सदस्य बिहानैदेखि मन्डिखाटारबाट गोकर्ण ओहोरदोहोर गरिरहेका थिए । कोइराला परिवारले उक्त रिसोर्टको मृगतृष्णा हल र ज्याजग्राउन्डसहित चार कोठा आइतबारसम्मका लागि 'बुक' गरेको छ । ६५ कोठाको रिसोर्टका आधाभन्दा बढी कोठा शुक्रबार साँझसम्म बिहेको निम्तोमा आउनेले आफैं खर्च बेहोर्ने सर्तमा बुक गरेको रिसोर्ट स्रोतले बतायो ।
स्रोतका अनुसार ७ हजार ७ सय रुपैयाँ पर्ने कोठा र खानाको दर दुईपक्षले सहमतिका आधारमा गोप्य तरिकाले 'डिल' गरेका छन् । उनीहरूले शनिबार ३ सय ५० देखि ५ सय ५० जन्तीका लागि खाना 'अर्डर' गरेका छन् । रिसोर्टले जन्तीलाई नेपाली सलाद, इन्डियन, थाई खाना र युरोपियन स्विट्स खुवाउँदै छ । बिहेमा आउने भारतीयलगायतका अतिथि आफ्नै खर्चमा होटल याक एन्ड यती, महाराजा होटल र लि म्यारिडियनमा बस्ने छन् । उनीहरूका लागि होटलको बन्दोबस्ती, खानपानलगायतको जिम्मा मनीषाका मामाका छोरा नीरज उपाध्यायले सम्हालेका छन् । उपाध्यायसहित उनका दुई भाइले पनि बिहेको मण्डप, पूजा सामग्री, गहना, कपडा, अतिथि सत्कारको जिम्मा सम्हालेको कोइराला परिवारले बताएको छ । दुलही अन्माउने, मेहन्दी लगाउनेलगायतका काम काठमाडौंकै पार्लर र कालीगढको जिम्मामा छ ।
कान्छा हजुरबुवा गिरिजाप्रसाद कोइरालाको निधन भएको ५९ औं दिनमा भएको स्वयम्बरमा कोइराला परिवारका तर्फबाट मनीषाका बुवा प्रकाश, आमा सुस्मा, भाइ सिद्धार्थ, उनकी पत्नी जुलिया, भतिजी यामिनी सहभागी थिए । त्यसैगरी परराष्ट्रमन्त्री सुजाताकी छोरी मेनका जोस्ट चौधरी, उनका पति रुबेल चौधरीलगायत पनि समारोहमा सहभागी थिए । काका शेखर, श्रीहर्ष र डा. शशांक परिवारसहित समारोहमा थिए । समारोहमा विराटनगरमा रहेका परिवार, आफन्त र इष्टमित्र पनि सहभागी थिए ।
यसैबीच स्वयम्बरको खबर थाहा पाएपछि समाचार संकलन गर्न पुगेका सञ्चारकर्मीहरूले करिब डेढ घन्टा कुराइपछि तस्बिर खिच्न पालैपालो समय पाएका थिए । सयपत्रीले सजाइएको मृगतृष्णा हलमा उनीहरूले फोटो सेसन गराएका थिए । जहाँ उनीहरूका अभिभावक पनि सँगै थिए । स्वयम्बर करिब २ घन्टामा सकिएको थियो । समारोहमा दुई परिवारका सदस्यको सहभागिता बढी थियो ।
शनिबारको बिहे कार्यक्रमपछि कोइराला परिवारले आइतबार सोल्टी होटलमा रात्रिभोज आयोजना गरेको छ । उक्त भोजका लागि एक हजारभन्दा बढीलाई निम्तो दिइएको
छ । बेहुला पक्षले सोमबार नयाँबानेश्वरमा रहेको एभरेस्ट होटलमा रात्रिभोज आयोजना गर्दैछन् ।
त्यसैगरी उनको पहिलो फिल्मका नायक विवेक मुश्रान, भारतीय नायक गोविन्दाकी पत्नी सुनिता अहुजा, भारतीय डिजाइनर आना सिंहलगायत भारतीय अतिथि पनि स्वयम्बरमा सहभागी थिए । बिहेमा भारतीय कलाकार गोविन्दा, ज्याकिश्राफ, रानी मुखर्जी, उर्मिला मातोडकरलगायतकालाई आइतबारको भोजमा निम्तो पठाइएको छ । कोइराला परिवारले राष्ट्रपति, प्रधानमन्त्रीसहित मन्त्रीहरू, सबै दलका प्रमुख नेता, पूर्व र वहालबाला विशिष्ट कर्मचारीलाई निम्त्याएको छ । त्यसैगरी मनीषाका बुवा प्रकाशले विराटनगर र बनारसमा रहेका बालसखाहरूलाई पनि निम्तो पठाएका छन् । मनीषाको बिहेको कार्ड अधिकांश नेता, कार्यकर्ताले हातहात बाँढेका थिए ।
Blogger Comment
Facebook Comment