गृहपृष्ठ » अन्तरवार्ता
अन्तरवार्ता
के डनलाई प्रेम गर्नु गलत हो ?
हो, मलाई पनि थाहा छ, डन मरेको विषयमा किन हाइप क्रिएट गर्ने भन्ने ? डनका रूपमा विकसित भएको दिनेशको इमेजलाई मात्र हेर्ने हो भने यो कुरा सही पनि छ। जस्तो इमेज छ, त्यही अनुसार जनताले रियाक्ट गर्ने त हो नि। त्यही भएर कतिपय मानिसको नकारात्मक प्रतिक्रियाप्रति मैले वास्ता गरेकी छैन। अब हाम्रो केसमा भन्ने हो भने हामी पीडित पक्ष, म पीडित परिवारको सदस्य, हामीले के मात्र खोजिरहेका छौं, ठीक छ, एउटा डनको मृत्यु भयो वा हत्या भयो तर हामी पीडित पक्षको परिवारलाई सूचना दिनुपर्छ कि पर्दैन ? मैले अपराध विशेषज्ञहरूसँग कुराकानी गर्दा पनि उहाँहरूले घटनापछि मृतकको शव उठाउनुपूर्व परिवारका सदस्यलाई अनिवार्य रूपमा खबर गरिनुपर्छ भन्नुभयो। काठमाडौं भ्याली एसएसपी पुष्कर कार्कीले फरक-फरक कुरा गर्नुभयो। अर्का एक प्रहरी अधिकृतले त हेलमेट लगाएको मानिसको हेलमेट खोल्दा चरी पो रहेछ भन्नुभयो। मैले मात्र होइन, आममानिसहरूले बुझ्न चाहेको कुरा भनेको के यो इनकाउन्टर हो ? यदि हो भने सत्य कुरा भन्न सक्नुपर्यो।
गृहमन्त्रीले संसद्मा मुठभेड भनेर लालमोहर लगाइसक्नुभएको छ नि ?
गृहमन्त्री भनेको त सरकारको प्रतिनिधित्व गर्ने व्यक्ति हो। उहाँ पुलिस प्रशासनभन्दा माथि हुनुहुन्छ, उहाँ आफू घटनास्थलमा पुग्नुभएको छैन, कुनै अध्ययन-अनुसन्धान भएको छैन, प्रहरीले जे प्रतिवेदन दिएको छ, त्यही भन्ने त हो, उहाँले। सरकारका तर्फबाट उहाँले मुठभेड भनेर मोहर लगाउन खोज्नुभयो, त्यो कुरामा चित्त नबुझेर नै सत्य-तथ्य अनुसन्धान होस् भनिएको हो। दिनेशको दुर्भाग्य उहाँ कतै गिरफ्तारीमा पर्नुभयो, अनि इनकाउन्टर गरियो, किनभने जुन घटनास्थलमा मुठभेड भएको भनिएको छ, त्योचाहिँ बिलकुलै होइन। अगाडिबाट गोली हानिएको छ, दिनेशले जसरी पल्सर बाइक चलाउनुहुन्थ्यो, त्यसलाई पुलिसको भ्यानले कुनै अवस्थामा भेट्न सक्दैन। फेरी यस्तो बाटोमा मुठभेड भनिएको छ, जहाँ बाइकलाई ओभरटेक गर्ने सम्भावना नै छैन, घटनास्थलमा पुगेकाहरूले प्रस्ट रूपमा भन्नुभएको छ, त्यहाँ मुठभेड हुनै सक्दैन।
संसदीय छानबिन समितिको कुरा पनि आयो नि ?
हामीले यो मृत्यु कसरी भयो भन्ने मात्र जान्न खोजेका हौं, यदि अध्ययन समितिले मुठभेड भन्यो भने पनि हामीलाई मान्य हुनेछ। अनुसन्धानका निम्ति निकाय खडा गरियोस् भन्ने हो, संसदीय छानबिन समितिले होस् वा अरू कुनै न्यायिक निकाय नै किन नहोस्, त्यसले सही ढंगले अध्ययन गरेको प्रतिवेदन मान्न हामी तयार छौं। दिनेशको मृत्यु प्रकरणलाई राजनीतिक मुद्दा बनाउन वा डनलाई किन मारियो भन्ने हिसाबले हामीले जान चाहेका होइनौं।
दिनेश अधिकारीको मृत्युमा तपाईं किन सबैभन्दा पहिले बोल्न तयार हुनुभयो नि ?
धेरैले मसँग यो कुरा गर्नुहुन्छ, के कुनै डनको परिवार नै हुनु हुँदैन भन्ने छ ? उसका आफन्त नै हुँदैनन् ? उसका तर्फबाट मैले बोल्न नपाउने ? मैले त दिनेशको मृत्युमा बोल्न आवश्यक भएर नै बोलेकी हुँ। त्यो मेरो जिम्मेवारी पनि हो। म उसको परिवारको सदस्य हुँ। यो विषयले मलाई जुन तनाव भएको छ, त्योभन्दा बढी के नै हुनसक्छ र, उसका बारेमा बोल्न तयार नहुनु ? ऊ जीवित हुँदा ऊबाट मैले सहयोग पाएँ, मैले उसलाई सहयोग गरें, हामी एक-अर्कालाई सहयोग गरेर नयाँ जीवन सुरु गर्दै थियौं। मृत्युपछि मैले उसलाई बेवास्ता गर्ने भन्ने हुन्छ र ? मानवीय धर्मले पनि यस्तो गर्न दिँदैन। एउटा डनजस्तो मान्छे जोसँग मेरो नाम जोडिएको थियो, त्यसले मलाई असर गथ्र्यो अब त्यो मरि त हाल्यो भनेर बेवास्ता गर्न मेरो नैतिकताले पनि दिँदैन।
यसमा त तपाईंले एक प्रहरी अधिकृतलाई ठाडै मुछ्नुभयो नि ?
हो, मैले दिनेशको मृत्युको खबर थाहा पाउनेबित्तिकै यसमा कुुमोद ढुंगेलको हात छ भन्ने अनुमान गरें, किनभने त्यसका केही आधार थिए, मेरो बुबाले पनि कुमोदकै भूमिका हुनुपर्छ भन्नुभयो। उनी र अर्पण कोइरालाले विगतमा जे-जस्ता धम्की दिएका थिए, त्यो ठ्याक्कै पूरा भएको थियो।
कुमोद ढुंगेलसँगको तपाईंको सम्बन्ध नि ?
कुमोदजीसँग मेरो संस्थाकै कामको सन्दर्भमा भेटघाट भएको हो। उहाँ मेरो घरमा पनि आउनुभएको छ, संस्थामा पनि आउनुभएको छ। संस्थाको कामको सन्दर्भमा सहयोग पनि गर्नुभएको छ। दिनेशसँग फ्रेन्डसिप हुँदा कुमोदजीसँग पनि राम्रो चिनजान थियो। कुमोदजीले त्यतिबेला मलाई के-के भन्नुभएको थियो, त्यो कि उहाँलाई थाहा छ कि मलाई। कुमोदजी निराशाका कुरा भन्नुहुन्थ्यो। मेरी आमाको घर छ, त्यो राखेर भए पनि तिम्रो समस्यामा सहयोग गर्न तयार छु जस्ता कुरा गर्नुहुन्थ्यो। एउटी युवतीलाई प्रभावित गर्न युवकले गर्ने जस्ता व्यवहार थिए, उहाँका। एकपटक कुमोदजीले मध्यरातमा फोन गरेर मेरो तस्बिरका कारण श्रीमतीले प्रश्न गरेको र हाम्रो सम्बन्ध केही पनि होइन भनेर भन्देऊ न पनि भन्नुभयो।
सरकारमा एमाले छ, एमालेकै कार्यकर्ता मरेका छन्, सदनमा एमालेकै सभासदहरू यसलाई इनकाउन्टर भनेर दाबी गरिरहेका छन्, तपाईं एमाले अध्यक्षकहाँ गैरहनुभएको छ ? अब के हुन्छ होला त यो गोलचक्करको निष्कर्ष ?
एमाले पार्टीको कार्यकर्ता भन्दैमा गुन्डागर्दी गर्दै हिँड्नेलाई साथ दिने भन्ने त होइन। एमालेले सत्यलाई साथ दिनुपर्छ भन्ने हो। एमालेको ठूलो समूहले भनिरहेको कुरा, हठात् षड्यन्त्रपूर्वक इनकाउन्टर गरिएको छ भन्ने हो। उहाँहरूले प्रस्ट रूपमा यसको सत्यतथ्य सार्वजनिक गर्न छानबिन गरियोस, न्यायिक उपचार खोजियोस् भन्नुभएको छ, मैले चाहेको पनि त्यही नै हो।
तपाईंले विश्वका सफल र धनी व्यक्तिहरूको कुनै समयको पृष्ठभूमि अपराधसँगै जोडिएको पाइन्छ भन्नुभएछ ? के सबै धनीहरू आपराधिक पृष्ठभूमिकै हुन्छन् ?
गलत बुझ्नुभएछ, मैले भनेको कुरा एकपटक गुगल गरेर हेर्नुहोस्, विश्वमा आपराधिक पृष्ठभूमि भएका मानिसहरू सुध्रिएको अवस्थामा तिनीहरूले थप सफलता पाएका छन्। त्यो सूची हेर्दा आपराधिक पृष्ठभूमि भएकाहरू पनि सुध्रिएर अत्यन्तै सफल भएका छन् भन्न खोजेको हो मैले।
खुश्बुसँगको संगतले दिनेश सुध्रिँदै गएको हो ?
मलाई हाँसो उठ्छ, यस्तो प्रश्नको उत्तर दिनुपर्दा, किनभने मैले गर्दा होइन, ऊ आफैं सुध्रिन चाहेको मानिस हो। उसको आपराधिक पृष्ठभूमि हेर्नुभयो भने थाहा पाउनुहुन्छ । मैले भेटेको अवस्थामा भने ऊ राम्रो स्वभावको व्यक्ति थियो। उसका मुद्दाहरू अदालतमा छिनोफानो हुँदै गएका थिए, उसले नराम्रो काम केही गरेको थिएन। पछिल्ला दुई वर्षयता उसको नाममा कुनै नराम्रो गतिविधि पनि भएको थिएन। दुर्भाग्य नै भन्नुपर्छ, ऊमाथि जुन गोलीप्रहार भयो त्यसले उसलाई फेरी आपराधिक क्रियाकलापमा तान्यो। राधे भण्डारीले गोली हानेपछि बदलाको भावना विकास भयो। ऊ भारत गएको अवस्थामा यहाँ भएका घटनाको दोषी पनि उसलाई नै बनाइन्छ। प्रहरी आफैंले त्यतिबेला ऊ इन्डियामा भएको बताएको छ। कुनै मानिस परिवर्तन हुन खोज्यो भने पनि नदिने रहेछन्। ऊ त धादिङमा धेरै मानिसको प्रिय थियो। युवा अवस्थामा जे भयो-भयो अब राजनीतिक कार्यकर्ताका रूपमा आफूलाई ग्रुम गर्दै लाने दिनेशको योजना थियो।
डनसँग प्रेम गर्न अलिक अप्ठ्यारो लागेन ?
यो प्रश्न मैले धेरैपटक सुन्नुपरेको छ, तपाईं पढेलेखेको मानिसको डनसँग सम्बन्ध भनेर धेरैले आश्चर्य प्रकट गर्नुुहुन्थ्यो। के डनसँग प्रेम गर्न नहुने हो त ? डनसँग सम्बन्ध नै राख्न नहुने हो ? एउटा मानिसले आफूलाई परिवर्तन गर्न चाहिरहेको छ भने उसलाई सहयोग नगरेर अपराधी बनाउने ? मानिसहरूले जे भने पनि एउटा व्यक्तिको हिसाबमा दिनेश राम्रो मानिस लागेरै सम्बन्ध गाँस्न चाहेकी हुँ।
तपाईं दिनेशसँग विदेश गएर सेटल हुने योजनामा हुनुहुन्थ्यो ?
कुनै समय त्यस्तो सोचिएको भए पनि अहिले त्यस्तो थिएन। दिनेशले राजनीतिकरूपमा सक्रिय भएर जनताको सेवा गर्न चाहेको थियो। मैले पनि उसँग मिलेर नेपालमै केही गरौं भन्ने सोचेकी थिएँ, अहिले विदेश जाने कुनै योजना थिएन।
खुश्बुको सामाजिक संस्थादेखि घरसम्मलाई बलियो बनाउन दिनेशको आर्थिक सहयोगले भुमिका खेलेको छ भन्ने कुरामा के भन्नुहुन्छ ?
मैले सडक बालकहरूलाई ल्याएर पालेकी छु, त्यो संस्था चलाउन कति दुःख छ भन्ने कुरा मलाई नै थाहा छ। कतिपय कर्मचारीले तलब लिएका छैनन्, कतिपयले समयमा तलब पाएका छैनन्। फेरि मैले अहिलेसम्म दिनेशसँग पैसाको कारोबार पनि गरेकी छैन। अर्को कुरा सम्पत्ति शुद्धीकरणमा दिनेशको सम्पत्ति कति नै देखिएको छ र मैले उसको सम्पत्ति सामाजिक कार्यमा लगाउनु। समाजसेवामा कालो धनको प्रयोग सम्म भनियो। कुनै पनि कुरा प्रमाणित हुन्छ भने म स्वीकार गर्न तयार छु, तर नचाहिँदो आरोप किन ? म अक्सफोर्डको ग्राजुएट, विश्वको जुनसुकै ठाउँमा गएर काम गर्न सक्थें, तर स्वदेशमा फर्किएर सामाजिक क्षेत्रमा काम गरिरहेकी छु। दिनेशको मृत्युपछि यस्तो कुरा आउनु मेरा लागि राम्रो होइन। ठीकै छ, जति बदनामी हुनु थियो भैसक्यो, मेरो परिवार मेरो पक्षमा छ, मलाई केही भन्नु पनि छैन। मैले नबोली उसको इनकाउन्टरको कुरा बाहिर नआउने भएकाले मात्र म उसको मृत्युको विषयमा सही कुरा खोज्न निस्किएकी हुँ। यो कुराले अनुसन्धान सुरु होला। जहाँसम्म मेरो संस्थाका लागि फन्डको कुरा छ, म पनि यत्तिकै बसेकी छैन, जर्नलका लागि फ्रिलान्सर राइटरका रूपमा काम गरिरहेकी छु लन्डनमा। मेरो आफ्नो आयस्रोत पनि छ। मेरो संस्थाका सदस्यहरू हुनुहुन्छ, सबैबाट हरेक महिना सहयोग हुन्छ।
तपाईं विद्यार्थी मान्छे ३२ जना सडक बालक राखेको संस्था कसरी सञ्चालन भैरहेको छ त ? मानिसहरूले हिजो अर्पण र आज दिनेशको पैसाले चलेको सामाजिक संस्था भनेर भनिरहेका छन्।
अर्पणसँग त्यत्रो पैसा कहाँ थियो जसले गर्दा मैले घरदेखि सामाजिक संस्थामा समेत खर्च गर्न पाएँ ? यो कुरा सत्य हो भने आज अर्पण किन भागेको त ? म यहीं काम गरिरहेकी छु। म काम गर्छु-गर्दिनँ, त्यो मेरो व्यक्तिगत कुरा हो तर अर्पण किन भाग्यो भन्ने खोजी गर्नु आवश्यक छ। फर्पिङमा एक जना महिलाले अर्पणविरुद्ध मुद्दा हालेकी थिइन्, १८ वर्षकी युवतीलाई प्रयोग गरेर सहकारीबाट पैसा निकाली त्यो पैसा खाएर तिनै युवतीसँग शारीरिक सम्बन्ध राखेको भनेर। होटल अन्नपूर्णमा सम्पर्क गर्नुहोस्, त्यहाँ पनि उसको त्यत्तिकै लफडा छ, ट्राभलहरूको नाम दिन्छु, तिनीहरूसँग आफैं बुझ्नुहोस् कति पैसा खाएको छ भन्ने। साथीभाइ र मेरो पैसा खाएका उदाहरण नै दिन सक्छु। मैसँग कतिवटा बाउन्स चेक छन्। ठूलो गल्ती के भयो भने मैले समयमै मुद्दा दायर गर्नुपथ्र्यो, तर गरिनँ। अझै पनि अर्पण कोइरालाका विरुद्ध थुप्रै प्रमाण छन् मसँग।
खुश्बुको परिवारको बलियो आर्थिक आम्दानीको जग अर्पण नै हो भन्नेहरू पनि छन् नि ?
यो सबै बकबास हो, दिनेशको मुद्दा साम्य मात्र होस्, म अर्पणका कस्ता-कस्ता कर्तुत सार्वजनिक गर्ने छु ? उसले दाउद इब्राहिमलाई पठाएका इमेलहरू, त्यो कुराको प्रमाण यहीं मसँग छ, लान चाहनुहुन्छ भने दिन सक्छु। उसले डी कम्पनीका लागि काम गर्न भनेर दाउदलाई लक्षित गरेर लेखेका इमेल छन्, ती दाउदसम्म पुगे-पुगेनन् थाहा छैन, तर ऊ कति आपराधिक मस्तिष्कबाट निर्देशित थियो भन्ने कुरा महत्वपूर्ण हो।
दिनेशले तपाईंलाई सुरुवातमा भाउजू भन्थे होइन ?
होइन, उहाँले मलाई कहिल्यै भाउजू भन्नु भएन, प्रारम्भिक भेटघाटहरूमा हाम्रो कुरै हुँदैनथ्यो। धेरैले भाउजू भन्थे, तर उहाँसँग त्यस्तो कुरै भएन। अर्पणमार्फत नै हाम्रो चिनजान भएको सत्य हो। अर्पण नेपाल छोडेर भारत भाग्दा पनि दिनेशलाई मैले आदर गर्नुपर्ने कारण के थियो भने उहाँले अर्पण दाइलाई बोलाउनुहोस्, म जस्तोसुकै सहयोग गर्न तयार छु, अर्पण दाइलाई भागेर नबस्न भन्नुहोस् भन्नुभएको थियो। त्यसपछि मैले अर्पणलाई तिम्रा साथीभाइ सहयोग गर्न तयार छन्, आऊ भनेर पटक पटक नेपाल आउन आग्रह गरें, तर मेरो परिवारले माया गरेर राखेको मान्छेले अन्ततः हामीलाई नै डुबाइदियो।
पुनस्र्थापना केन्द्रमा भएको अर्पणसँग कसरी नजिकिन पुग्नुभयो ?
हो, मेरो त्यही मूर्खताका कारण म यो अवस्थामा पुगें। त्यो वास्तवमै गलत निर्णय थियो, तर अट्याचमेन्ट भनेर म ऊसँग प्रेममै परेकी पनि होइन। मैले उसलाई पुनस्र्थापना केन्द्रबाट ल्याएर नयाँ जीवन दिन खोजें। मैले दिएकै सल्लाह र सहयोगका कारण ऊ त्यहाँबाट निस्कियो। पछि लन्डन जाने कुरामा म पहिले गएँ, पछि ऊ आयो। एउटा मानिसलाई सानो सहयोग गरेर उसको जीवन बन्छ भने किन नगर्ने ? सबै राम्रो थियो, ब्रेकअप भैसकेपछि पनि मैले उसलाई नराम्रो भनिनँ। अर्पणकै कारणले मेरो दिनेशसँग प्रेम हुन गएको हो। हरेक दिन पासपोर्ट लिन आउन थालेपछि दिनेश र म नजिकियौं। अर्पणको व्यवहार देखेर दिनेशले मलाई सहयोग गर्न थालेको हो। अर्पणसँग मेरो सम्बन्ध सकिएको २ वर्ष भैसक्यो, तर दिनेशसँग सम्बन्ध जोडिएको पछिल्लो डेढ वर्षयता मात्र हो।
अब अर्पणप्रतिको त्यो पुरानो प्रेम जाग्ने सम्भावना छ कि ?
माया त धेरै पहिले नै समाप्त भएको हो, सद्भावना थियो तर अब त्यो पनि सकियो। एकपटक उसले मेरो फेसबुकदेखि इमेलसम्म सबै ह्याक गर्यो, म डीएसपी प्रजित केसीकहाँ गएँ। उसले अति नै टर्चर दिइसकेको थियो, त्यसबेलासम्मतर र्फम भरेर ऊविरुद्ध उजुरी दिन सकिनँ। त्यसपछि मलाई मार्न मान्छे पठायो, त्यो दिन प्रहरी नै बोलाउनुपर्यो। अति नै भएपछि घर नै सरें। यहाँ आएपछि अति नै भयो फेरि, त्यसपछि ललितपुर प्रहरीमा उजुरी गरें।
यी घटनाले मलाई ऊप्रति झनै नकारात्मक बनायो ।
अर्पणलाई तपाईंको ड्याडीको चेक दिनुको कारण ?
हामी बीच यस्तो विश्वास थियो कि, सबै कारोबार साझा रूपमा भैरहेको थियो, यस्तो अवस्थामा उसलाई विश्वास गरेर चेक दियौं। पारिवारिक सम्बन्ध भएकाले कारोबारका निम्ति उसलाई चेक दिइएको हो। उसले विश्वासको गलत फाइदा उठायो।
दिनेशको कुन त्यस्तो राम्रो पक्ष थियो, जसले तपाईंलाई उनीप्रति आकषिर्त गरायो ?
सबैभन्दा मुख्य कुरा आफ्नो डनको इमेज परिवर्तन गर्ने चाहनाले मलाई आकषिर्त गरेको थियो। जीवनलाई कसरी अघि बढाउने भन्ने विषयमा उससँग एकदमै राम्रो योजना थियो। उसले राजनैतिक तथा सामाजिक कार्यकर्ताका रूपमा आफूलाई अघि बढाउन चाहेको थियो।
दिनेशसँग पछिल्लो पटक के कुराकानी भएको थियो ?
हाम्रो कम्युनिकेसन एकदमै लाइट हुन्थ्यो, काम विशेषले केही कुराकानी भैहाल्यो भने मात्र हो, त्यो पनि भाइबरमा। अरू सम्पर्क त ट्याप गरिएको हुन सक्थ्यो, अहिले बजारमा मेरो मोबाइलमा कन्ट्याक्ट गरेको भन्ने कुरा छ, त्यो एकदमै गलत हो। मारिएको दिन बिहान ९ बजे कुराकानी भएको थियो, उहाँले भोलि अदालत जान्छु भन्नुभएको थियो। त्यतिमात्र कुरा भयो। दिनेशले बोक्ने मोबाइलको भाइबर नम्बर बेलायतको थियो। उहाँ वकिलसँग काम गरिरहनुभएको थियो।
अहिले तपाईंका अभिव्यक्तिहरू दिनेशको समूहको नेतृत्व लिने हिसाबले आइरहेका हुन् कि ?
त्यस्तो पनि होइन्, दिनेश आफैं परिवर्तन खोजिरहेको मान्छे थियो, अनि उसको समूहको नेतृत्व मैले लिने कुरा पनि हुनै सक्दैन। खालि एउटा मानिसलाई अचानक मारियो अनि त्यसलाई गलत ढंगले प्रचार गरियो, त्यसका विरुद्ध न्यायिक ढंगले जे भएको त्यो भनियोस् मात्र भनिएको हो। नेतृत्व लिएर जाने भन्दा पनि म परिवारको सदस्य भएकाले बोलेकी मात्र हुँ।
खुश्बुको कुरा सुनेर छक्क परिरहेको छु
अर्पण कोइराला
तपाईंले खुश्बुलाई मन पराउनुको कारण के थियो ?
उनी हेर्दा राम्री थिइन्, प्रतिभाशाली पनि लाग्थिन्। प्लस टुमा अध्ययन गर्ने युवती सामाजिक सेवाको क्षेत्रमा काम गर्ने कुरा गर्थिन्। समाज र देशका लागि केही गर्ने उनको चाहना देखेर म उत्साहित हुन्थें, किनभने म आफैं दुव्र्यसनको सिकार भएर पुनस्र्थापना केन्द्रमा थिएँ। सामाजिक सेवाको हाम्रो चाहना मिल्यो। उनले त्यहाँ इन्टर्नका रूपमा काम गर्दा मैले मन पराँए। हाम्रो मन मिल्यो। मैले प्रेम प्रस्ताव राखेको एक-डेढ महिनापछि उनले प्रस्ताव स्वीकार गरिन्। त्यसपछिका छ-सात वर्ष हामी साथै थियौं, एकदमै सुखी जीवन बिताइरहेका थियौं तर अचानक हाम्राे सम्बन्ध बिग्रन पुग्यो।
खुश्बुलाई खुसी बनाउन के-के गर्नुभयो ?
मेरो ड्याडी ह्युमन वेलफेयर ग्रुप नामक संस्थामार्फत सामाजिक सेवाको क्षेत्रमा काम गर्नुहुन्थ्यो। खुश्बु र मेरो मन मिलेपछि त्यही संंस्थामार्फत सडक बालबालिका तथा वृद्धवृद्धाका निम्ति काम गर्ने योजना बन्यो। अहिले त त्यसलाई खुश्बुले सेल्टर होम भन्छिन् रे। खुश्बुको मात्र होइन, मेरो खुसीको कुरा पनि थियो, सामाजिक सेवाको क्षेत्र। त्यसपछि अध्ययनको कुरा निस्कियो। सुरुमा मैले पुतलीसडकको एक कन्सल्टेन्सीमा पैसा बुझाएर खुश्बुलाई अध्ययनका निम्ति लन्डन पठाएँ।
यहाँसम्म कि एकेडेमिक रूपमा पनि लन्डन जान नमिल्ने अवस्था थियो, खुश्बुको। यो सबैकुरा एनआईईसी कन्सल्टेन्सीमा बुझ्नुभए हुन्छ। लन्डन गएर बस्न थालेको तीन-चार महिनामै हामीले नेपाल आएर संस्था सुरु गर्यौं। हामी पाँच-छ वर्ष लन्डन बस्यौं होला, नेपाल आउने जाने क्रम भैरहन्थ्यो। म इकोनोमी क्लासको टिकटमा र उनी फस्टक्लासको टिकटमा हिँड्थ्यौं। फस्टक्लासको टिकटका क्रममा एकैपटकमा १० लाख रुपैयाँसम्म खर्च हुन्थ्यो। माया-प्रेम प्रगाढ भएकाले मैले त्यस्ता कुरामा वास्ता गरिन्। सपिङका लागि उनी फ्रान्स, स्पेन, थाइल्यान्ड, हङकङजस्ता पुग्थिन्। आईपीएल हेर्नकै निम्ति मैले उनलाई भारतका विभिन्न रंगशालामा पुर्याएँ। मैले जे-जति गरें, आफ्नो मायाकै निम्ति गरेको थिएँ।
सामाजिक सेवाका लागि कसरी खर्च जुटाउनुहुन्थ्यो ?
मुख्य कुरा सामाजिक सेवाका निम्ति हाम्रो मन मिलेको थियो, त्यसैले खर्च जुटाउने विषय समस्या हो जस्तो लाग्दैनथ्यो मलाई। सबै पैसा मेरो घरबाट उपलब्ध हुन्थ्यो। सामाजिक सेवाका क्षेत्रमा डेढ वर्ष अघिसम्म कति गरेंं भन्ने कुरा माया दि अनकन्डिसनल लभ शीर्षकको युट्युब फुटेज हेरे हुन्छ। काठमाडौंको संस्थामा बाहेक झापामा एम्बुलेन्स प्रदान गर्ने, झापाकै सुरुङ्गामा २० वटा रिक्सा प्रदान गर्ने, झापा जेसिजका लागि भवन बनाइदिने, कन्काई माविमा निश्चित रकम राखेर त्यहाँका विपन्न बालबालिकाका लागि छात्रवृत्तिको अवसर जुटाउने जस्ता धेरै कुरामा मेरो घरबाट आएको पैसा खर्च भयो। खुश्बुको खुसीका निम्ति म जस्तोसुकै मूल्य पनि चुकाउन तयार थिएँ। खुश्बुले पनि केही खर्च त गरिन् होला, तर देखिने गरी यो कुरामा खर्च भएको भनेर भन्न सक्नुपर्यो नि।
खुश्बुसँगको सामीप्यतामा कति खर्च भयो त ?
मैले खुश्बुलाई माया गरेर उनको इच्छा पूरा गरेको थिएँ। उनी सफल भएको अवस्थामा म पनि त सफल हुन्छु नि भन्ने लाग्थ्यो। त्यसैले यति खर्च गरें भन्नु राम्रो नहोला, तर अहिले सम्झिएको खर्चमात्र टिप्दा पनि ७ करोड पुग्यो। यो कुरा मेरा र खुश्बुका नजिकका मित्रहरूलाई राम्रोसँग थाहा छ। मसँग अझै धेरै पैसा हुन्थ्यो भने त्यो पनि सक्थे होला। मैले काठमाडौंका ३ वटा घर बेचे। भक्तपुर, अनामनगर तथा हेटौंडामा भएका सबै जग्गा सकिए। अब काठमाडौंमा एउटा घर मात्र बाँकी छ।
तपाईंले खुश्बुको ३-४ करोड रुपैयाँ तिर्न बाँकी रहेछ, त्यो रकम तिर्नुपर्दैन ?
जहाँ प्रेम हुन्छ, त्यहाँ विश्वास हुन्छ। मैले माथि नै भनिसकें, मसँग भएको अरू सम्पत्ति पनि उनकै खुसीका लागि समर्पण गर्थें होला। अहिले पश्चाताप लाग्न थालेको छ। मैले के गरेको होला ? ६ वर्ष एकसाथ बसेको मान्छे, अहिले त अर्पणसँग प्रेम नै थिएन, उसले प्रस्ताव राखेको मैले नस्वीकारेका कारण दिनेश अधिकारीलाई मार्ने षड्यन्त्र गरेको जस्ता कुरा गर्न थालिन्। भयो के भने सँगै बस्ने भएकाले मेरो चेकबुक उनीसँगै रहन्थ्यो, जसमा उनले ड्याडी, ममी, दाजु अनि अरू विभिन्न मान्छेका नाममा करोड-करोड रुपैयाँ भरिछन्, जुन चेक बैंकबाट बाउन्स भयो। अनि उनी मलाई बदनाम गर्न थालिन्। मैले उनको कुनै पैसा खाएको छैन, म खुश्बुलाई चुनौती दिन्छु, उनले आफूसँग भएको साढे ४ करोड रुपैयाँ बराबरको सम्पत्तिको स्रोत मात्र देखाइदिए हुन्छ। उनको परिवारको विगतको अवस्था पनि हेर्नुपर्यो नि।
तपाईंले ऐय्यासी गरेर आफ्नो मात्र होइन, खुश्बुको सम्पत्ति पनि सक्नुभयो रे। उनी त आफ्नो ड्याडीले घरजग्गा बेचेको पैसाले बेलायतमा पढेको बताइरहेकी छिन्।
यी कुरा मानिसको हेर्ने दृष्टिकोणमा निर्भर गर्छ। मैले निःस्वार्थ प्रेम र विश्वासका आधारमा उनीमाथि खर्च गरें। खुश्बुको भविष्यलाई आफ्नो भविष्य मानें। हिजो हामीले जे-जति खर्च गर्यौं, साथमा गरेका हौं। उनी र उनको परिवारका लागि अन्नपूर्ण र याक एन्ड यतिमा खर्च गर्दा उनीहरू दंग हुने। मसँग रहुन्जेल खुश्बुको बर्थ डे पार्टी त फाइभ स्टारमा हुन्थे नै, उनका मातापिताको एनिभर्सरी पार्टी पनि याक एन्ड यतिमा हुन्थे। लन्डनमा पनि उनलाई ल्याविस रेस्टुराँमा जानुपर्ने। ७० लाख रुपैयाँ त मैले अक्सफोर्ड र अर्को युनिभर्सिटीमा अध्ययन शुल्कबापत मात्र बुझाएको छु। जहाँसम्म उनको ड्याडीको सम्पत्तिको कुरा छ, त्यो सम्पत्तिबाट आएको जम्मा डेढ करोड रुपैयाँ थियो, जसमध्ये ५० लाख रुपैयाँ खर्चिएर खुश्बुको दाइको विवाह भयो। बाँकी पैसा पनि उहाँहरूले आफ्नै निम्ति खर्चिनुभयो। उनका मातापिता देशबाहिर कतै नजानुभएको भनेर मैले आफैं काठमाडौं आएर बेलायत लिएर गएँ। त्यसपछि हामी सपरिवार स्वीट्जरल्यान्डसहित ९ वटा युरोपियन राष्ट्रका साथै सिंगापुर, मलेसिया, थाइल्यान्ड तथा दुबई घुम्यौं। घुम्ने क्रममा उहाँहरूले मस्तले सपिङ गर्नुभयो। विश्वकै दोस्रो महँगो सहर लन्डनमा ६ वर्ष उहाँहरूकी प्यारी छोरीले एउटा काम नगरि आफ्नै घरमा बसेर पढिन्। के डेढ करोडले ती सबै कुरा सम्भव हुन्थे ?
फर्पिङकी एक युवतीसँगको तपाईंको सम्बन्धको कुरा पनि आएको छ नि ?
मैले फर्पिङको घर वृद्धाश्रम सञ्चालनका लागि सुम्पिएको थिएँ, अहिले त्यो सञ्चालनमा छैन रे। त्यहींकी एक बहिनीलाई उचालेर मविरुद्ध बोल्न लगाइएछ। अहिले ती बहिनीले विवाह गरिसकिन् रे, पछि प्रहरीका अगाडि उनले मैले पैसा खाएको, नराम्रो गरेको भन्न मानिनन्। यो सबै खुश्बुकै गेमप्लान थियो। यससम्बन्धी थप तथ्य केही आएको पनि छैन। नेपाल आएपछि यससम्बन्धी सबै कुरा बुझनेछु। खुश्बुले गरेका कुरा सुनेर म त छक्क परिरहेको छु, उनले मविरुद्ध जे-जे बोलिरहेकी छिन्, त्यो सबै उनीहरूको परिवारले आफैंले गर्ने षड्यन्त्रपूर्ण व्यवहारको प्रतिलिपि हो। एकपटक दिनेश अधिकारीले म तेरो गर्लफ्रेन्ड खुश्बुसँग बस्न उसको घर जाँदैछु भनेर एसएमएस गरेको थियो। त्यो म्यासेज के हो ? भनेर मैले खुश्बुलाई पठाए। उल्टो दिनेशलाई अर्पणले यस्तो म्यासेज गरेको थियो भनेर देखाइन्, म त छक्कै परें।
तपाईं ६ वर्ष खुश्बुको घरमा बसेको हरहिसाब पनि छ नि ?
पहिलो कुरा, म खुश्बुको घरमा ६ वर्ष बसेकै होइन, लन्डनमा खुश्बुलाई लिएर बसेको चाहिँ हो, तर नेपाल आउने क्रममा म आफ्नो घरमा भन्दा बढी उनको घरमा बस्थें। त्यसको पनि कारण थियो, हामी दुवै जना छुट्टएिर बस्न नसक्ने, मेरो घरमा लैजाउ भनें विवाह नगरी खुश्बुलाई लिएर ड्याडी-ममी भएको घरमा बस्न जाने कुरा भएन। खुश्बुको त ठूलो परिवार त्यसमा पनि टन्न पाहुना हुने भएकाले उनीकहाँ म एक जना थपिँदा कुनै असहज हुँदैनथ्यो।
आफ्ना बाबुआमालाई सडकमा पुर्याएर तपाईं भाग्नुको कारण ?
खुश्बुले आफ्नो चिन्ता गरे मात्र पुग्छ, मेरो परिवारको कुरा म आफैं मिलाउँछु। अहिले ड्याडी-ममी र म साथमै छौं। केही अप्ठ्यारो परेर नेपालमा छैनौं, यसको अर्थ हाम्रो त्यहाँ घर नै छैन भन्ने पनि होइन। मेरा ड्याडी-ममीलाई मैले सडकमा ल्याए-ल्याइनँ वा फाइभस्टारमा राखेको छु, जे छ त्यो मेरो व्यक्तिगत कुरा हो। मेरो जिम्मेवारी मलाई खुश्बुले सिकाउनुपर्दैन।
कलंकीको घर, अन्नपूर्ण होटल, कुमारी बैंकका कर्मचारी तथा ट्राभल्सहरूको पैसा तिर्न बाँकी रहेछ किन ?
कलंकीको घर मैले खुश्बुका साथमा रहँदा गरेको खर्चकै कारण जोसँग ऋण लिएको थिए, उसैलाई बुझाएँ। खुश्बु साथमा हुँदा हरेक दिन अन्नपूर्णमा ६०-६५ हजार रुपैयाँ बिल तिर्थें। अहिले मैले अन्नपूर्णमा बुझाउन बाँकी ३५ हजार रुपैयाँ होला, त्यो पनि अन्तिममा खुश्बु र उनका परिवारले खाएको पैसा हो। त्यो पैसाचाहिँ तिर्न मन नलागेरै नतिरेको हो। हामी दुईले गरेका खर्च जे-जति भए-भए। त्यसबाहेक मैले आफ्नो परिवार, आफन्त, साथीभाइसँग लिएको ऋण म आफैंले तिर्ने हो, यसमा खुश्बुले टाउको दुखाउनु आवश्यक छैन। मेरो सबै सम्पत्ति सकिएको छैन, जोसँग मेरो कारोबार छ उनीहरूलाई मसँग कुनै समस्या छैन तर खुश्बुलाई किन समस्या भएको हो, मैले बुझिरहेको छैन।
तपाईंले दिनेशलाई मारेरै छोड्छु भनेर डीएसपी सोमेन्द्रसिंह राठौरकै अगाडि भन्नुभएको रहेछ, दिनेशको हत्यामा तपाईंको संलग्नता छ भनेर खुश्बुले भनिरहेको कुरामा कत्तिको सत्यता छ ?
यो त एकदमै घटिया कुरा हो। आपराधिक पृष्ठभूमि भएको व्यक्ति भनेर राज्यले नै उसलाई खोजिरहेको थियो। त्यसको जिम्मेवारी नेपाल प्रहरीले लिइसकेको छ, यसमा म जोडिनुपर्ने खुश्बुकै कारणले मात्र हो। डीएसपी सोमेन्द्रसिंह राठौरका अगाडी खुश्बुले के-कस्तो वकबास गरेकी थिइन्, त्यो डिएसपी सा'बलाई राम्रोसँग थाहा छ, सोध्न सक्नुहुन्छ। यस विषयमा म केही भन्न चाहन्नँ।
खुश्बुविरुद्ध जसलाई तपाईंले प्रयोग गर्नुभयो उसैले तपाईंलाई थर्कायो नि होइन ?
दिनेशलाई मैले नै खुश्बुुसँग चिनाएको थिएँ। उसले खुश्बुलाई भाउजू भनेर सम्बोधन गथ्र्यो। हो, पछिल्लो समयमा खुश्बुसँग मेरो सम्बन्ध बिगँ्रदै गएको थियो। हाम्रो मिस अन्डरस्टान्डिङका पछाडि केही कारण थिए, ती कारणले खुश्बुलाई मविरुद्ध नकारात्मक बनाउन मलजल गरें। योबीचको समयमा म भारतमा थिएँ। एक दिन मैले खुश्बुको फेसबुक खोलेर हेरें, जहाँ खुश्बुले कुनै साथीलाई अर्पणलाई छोडेर अहिले दिनेश अधिकारीसँगको रोमान्समा रमाइरहेको कुरा लेखेकी थिइन्। त्यति लामो प्रेमसम्बन्ध भएर वैवाहिक जीवनमा प्रवेश गर्न लागेको अवस्थामा मलाई त्यो कुराले विक्षिप्त बनायो। मैले खुश्बुलाई के गरेको भनेर पहिलो पटक नराम्रोसँग गाली गरें, चरीलाई पनि फोन गरेर के हो यो सब ? भनेपछि उसले दाइ, तपाईंले सोचेको कुरा गलत हो, भाउजूसँग कहाँ त्यस्तो हुन्छ भन्यो, मैले उसलाई पनि गाली गरें। त्यसपछि अर्पणले थाहा पायो भनेर खुश्बुले नयाँ-नयाँ नाटक बुन्न थालिन्। आफूलाई सही सावित गर्न उनीहरूले खेल खेल्दै गए। त्यसको तारो म नै भएँ। मैले चिनाएको मानिसले नै मेरो प्रेमिका हत्याएको हो।
दिनेशले कसरी तपाईंकी प्रेमिकालाई आकषिर्त गर्यो होला त ?
दिनेशले एक दुईवटा टि्रक प्रयोग गर्यो। म नारायणथानको घरमा हुँदा दाइ मेरा बहिनीहरू आएका छन्, उनीहरूलाई तपाइर्ंको घरमा पठाइदिन्छु है भन्यो, म सुतिरहेको थिएँ, हुन्छ भनें, चार-पाँच जना केटी आएका रहेछन्। लगत्तै उसले खुश्बुलाई फोन गरेर दाइको घरमा जानुस् त भाउजू, दाइ कस्ता केटीहरूसँग बस्नुभएको छ, देख्नुहुनेछ भनेछ। खुश्बु आउँदा म आफ्नै बेडमा सुतिरहेको थिएँ, बाहिर आएर बसेका केटीहरूको के-कस्तो हाउभाउ देखेर उनी फर्किन् मैले बुझिनँ। यस्तै पोखरामा पनि दिनेशकै केटीहरू आएर म बसेको होटलमा बसे, त्यो बेलामा पनि दिनेशले भाउजू, दाइ त केटीहरूसँग हुनुहुन्छ भनेछ। त्यतिबेला पनि म फसें। खुश्बु राम्री थिइन्, उनलाई आकषिर्त गर्न मलाई बदनाम गर्नुपर्छ भनेर दिनेशले यस्तै खेल खेल्यो, जसका कारण खुश्बु र मबीच मिस अन्डरस्टान्डिङ भयो।
पछिल्लो दुई वर्ष तपाईं फेरि लागूपदार्थको कुलतमा पर्नुभएको कुरा सत्य हो ?
म कुलतमा भएको कुरा जाँच्यो भने अहिले पनि थाहा हुन्छ। एक वर्षअघि खाएको लागूऔषधको असर पनि अहिले पत्ता लाग्छ। म दिल्लीमा उपचारका लागि अस्पताल बसेको कुरालाई उनले नाटकीय रूप दिएर पुनस्र्थापना केन्द्रमा बसेको भनेकी छिन्। यदि म पुनस्र्थापना केन्द्रमा बसेको रहेछु भने बाँकी सम्पत्ति पनि उनको नाममा हस्तान्तरण गर्न तयार छु, जो-कसैले यो प्रमाण जुटाओस्। ६ वर्षसम्म भगवान् भएर बसेको त्यो परिवारमा मलाई एकाएक राक्षस बनाउन फेरी दुव्यर्सनी भयो भनिएको मात्र हो।
तपाईं खतरामा हुनुहुन्थ्यो भने यहीं बसेर पनि न्यायका लागि लड्न सक्नुहुन्नथ्यो ?
चरी र खुश्बु अफेयरमा गएपछि मलाई एक किसिमको पीडा भयो। सुरुमा उनीहरू मेरो डरले मलाई बदनाम गराउन लागे। म अहिलेसम्म गुन्डागर्दी नगरेको मान्छे, मैले के नै गर्न सक्थें र ? तर पछि उल्टो मलाई नै थ्रेट हुन थाल्यो। एसएसपी रमेश खरेललाई मलाई मार्ने भए भनेर गुहारें। उहाँले नडराऊ भन्नुभयो, तर सधैं ज्यान मार्ने धम्की आएपछि उनीहरूले अट्याक गरिहाले भने त के गर्ने भन्ने डरले म नेपाल छोड्न बाध्य भएको हुँ।
खुश्बुलाई आरोप लगाउने, समाचारका लागि विभिन्न सञ्चारमाध्यम धाउने काम पनि गर्नुभयो होइन ?
मैले खुश्बुविरुद्ध केहि आरोप लगाएको छैन। म सधैं उनले लगाएको आरोपलाई डिफेन्स मात्र गरिरहेको छु। अहिले पनि खुश्बुविरुद्ध म कुनै आरोप लगाइरहेको छैन, उनले जे भनेकी छिन् त्यसको प्रतिवाद मात्र गरिरहेको छु।
खुश्बु कस्तो किसिमकी युवती हुन् त ?
सुरुमा उनी ट्यालेन्ट, इन्टेलिजेन्ट, आफ्नो घरपरिवारलाई असाध्यै माया गर्ने युवती हुन् जस्तो लाग्थ्यो, तर अहिले आएर उनलाई राम्रैसँग चिनें। उनी व्यक्तिगत स्वार्थ पूरा गर्न र आफ्नो परिवारको भविष्य बनाउन दुनियाँविरुद्ध जान सक्ने युवती रहिछिन्।
चरीसँग तपाईंको सम्बन्ध कसरी विकास भएको थियो ?
म अक्सर दरबारमार्ग क्षेत्रमै बस्न रुचाउथें, खासगरी अन्नपूर्ण होटलमा हुन्थें। त्यहाँ म आफ्नै साथीभाइमाझ हुन्थें। दिनेश पनि त्यहाँ आउँदो रहेछ, त्यही क्रममा उसँग चिनजान भयो। ऊ मलाई दाइ भन्थ्यो, म उसलाई भाइ। उसको आफ्नै किसिमको पहिचान भए पनि राम्रोसँग बोलचाल गर्ने, कुराकानी गर्ने भएकाले मलाई उसका कुरा ठीक लाग्थे।
Blogger Comment
Facebook Comment