लभगुरु रेखा थापालाई कस्तो केटा मन पर्ला ? सोझेो र भलादमी ? होइन । उनलाई त प्लेब्वाय मन पर्दो रहेछ । ‘दुई पेग हि्वस्कीका साथ सिगरेट पिउँदै गफ गर्ने केटाले मेरो मन चोर्न सक्छ,’ यतिखेर आफ्नै लगानीमा ‘कसले चोर्यो मेरो मन’ बनाउँदै गरेकी रेखाले भनिन्, ‘सोझो र भलादमी केटाको मन बुझ्न त धेरै समय पो लाग्छ त । बरु त्यस्ता प्लेब्वाईको मनको कुरा सजिलै जान्न सकिन्छ ।’ नेपाली पुरुषका बारेमा ‘रोमाञ्चक’ अभिव्यक्ति साटेकी रेखाले दाबी गरिन्, ‘नेपाली पुरुष माया गर्न पटक्कै जान्दैनन् ।’ आफूभन्दा आधा उमेर बढीका पुरुषसँग घरजम गरेकी रेखाले नेपाली पुरुषलाई मूर्खको कोटिमा राखिन् । भन्छिन्, ‘अफिसको काममा थाकेर घरमा आउँछन् र श्रीमतीलाई गाली गर्छन् ।×’
उनको अनुभवले भन्छ, नेपाली पुरुष महिलालाई दबाएर राख्न चाहन्छन् । प्रायः पुरुष श्रीमतीसँग सल्लाह गर्दैनन्, आदेश मात्रै दिन्छन् । कुराकानीकै प्रसंगमा आफूलाई भने श्रीमान्ले कहिल्यै दबाब नदिएको दाबी गरिन् । कस्तो केटा मन पर्छ ? होलसेल प्रश्नको उत्तर पनि होलसोलमै दिइन्, जिउडाल चिटिक्क मिलेको, गहुँगोरो वर्णको । उनलाई आफ्नो ज्यानको रंग खुब राम्रो लाग्दो रहेछ । गोरो, कालो कस्तो केटा मन पर्छ भन्ने प्रश्नको जवाफ दिने क्रममा उनैले सोधिन्, ‘म कस्ती छु ।’ उनले आफ्नै रंगको पुरुष राम्रो लाग्ने कुरा गरिन् । उनको भाषामा हेर्दा सोझा र भलादमी देखिने मान्छे कपटी हुन सक्छन् । कपटीका कुरा बुझ्न गार्हो हुन्छ ।
यिनले दाबी गरिन्, ‘म रूपलाई ध्यान दिन्नँ ।’ नजिकै उभिइरहेका श्रीमान् छवि ओेझालाई देखाउँदै भनिन्, ‘हेर्नुस् न, मेरा श्रीमान् पनि त रूपवान् छैनन् नि !’ नराम्रो भए पनि उसको हँसाइ राम्रो छ भने त्यस पुरुषबाट प्रभावित हुन सक्छिन् रेखा । तर, आर्मीकट कपाल काटेको हुनुपर्छ । पुरुषका आँखाले पनि उनलाई प्रभाव पार्न सक्छन् रे ! यदि कसैले रेखालाई प्रभाव पार्छु भन्ने सोचेको छ भने स्टाइलिस चस्मा लगाएर चिटिक्क देखिने योजना नबनाए हुन्छ । रेखा भन्छिन्, ‘मलाई चस्मा लगाउने मान्छे मन पर्दैन ।’ जो मान्छेले आँखामा आँखा जुधाएर कुरा गर्छ, उसका आँखाको भाव बुझिने दाबी गरिन् रेखाले । दाँत उछिट्टएिको पुरुष पनि राम्रो लाग्छ, यी बोल्ड हिरोइनलाई ।
आमहिरोइनले भोग्ने गरेको दैनिकी रेखाले पनि भोगेकी छिन् । बाटामा हिँड्दा धेरैले जिस्क्याउँछन्, हाई सेक्सी ! भन्दै । आफ्नो उमेरसँग मिल्दो र आफूभन्दा पाको उमेरकाले जिस्क्याउँदा रमाइलो लागे पनि फुच्चेहरूले जिस्क्याउँदा रिस उठ्ने कुरा गरिन् ।
जिन्स र टिसर्ट लगाउने पुरुष उनलाई मन पर्छ, तर कटनको पाइन्ट र आइरन गरेको सर्ट लगाउनेले उनको ध्यानाकृष्ट गर्न सक्दैन । सफाचट मान्छे उनको रोजाइको पुरुष हुनै सक्दैन । भन्छिन्, ‘हल्का दाह्री-जुंगा राख्ने पुरुष बल्ल पुरुष जस्तो लाग्छ ।’ रुन्चे पुरुषलाई हाम्रो समाजले काँतर भन्ने गरेको छ । उनलाई लाग्दैन, रुने मान्छे काँतर हो । ‘जो रुन्छ, ऊ महान् हो,’ रेखाले भनिन् । टेलिभिजनमा प्रचण्ड रोएको प्रसंग औँल्याउँदै भनिन्, ‘ती रोएको देखेेपछि उनलाई हेर्ने मेरो दृष्टिकोण परिवर्तन भयो, साँच्चै महान् रहेछन् भन्ने लाग्यो ।’ रुने पुरुष नरम हुन्छन् भन्ने रेखाले उनीहरूमा महिलालाई सम्मान गर्ने क्षमता देखेकी छिन् ।
विवाहका सवालमा यी आफैँ पनि व्यावहारिक रहिनछिन् । श्रीमतीभन्दा श्रीमान् १० वर्ष जेठो हुनुपर्छ जस्तो लाग्छ यिनलाई । भन्छिन्, ‘त्यसभन्दा बढी भयो भने त बाबुछोरी जस्तो देखिन्छ,’ तर, आफ्नै उमेरसँगको केटासँग बिहे नगर्न उर्दी जारी गर्छिन् । भन्छिन्, ‘पक्का हो, एउटै उमेरकाले बिहे गरे भने घरबार बिग्रन्छ ।’ रेखाले जीवनमा दुईजना पुरुषलाई थप्पड हानिछन् । पहिलो उनकै सहपाठीले र दोस्रो उनले नाम नभन्ने मान्छेले । विराटनगरमै स्कुल पढ्दाताक १३ वर्षको उमेरमा उनलाई आफ्नै क्लासको साथीले प्रेमपत्र लेखेको थियो । पहिलो लाइन ‘रेखा, तिमी साह्रै राम्री छ्यौ, म तिमीलाई असाध्यै माया गर्छु ..’ पढेपछि चिठी दिनेकै अगाडि च्यातिदिइन् । त्यसको बदला लिन उसले स्कुलको ट्वाइलेटमा लेखेछ, रेखा प्लस आफ्नो नाम । गर्व गर्दै भनिन्, ‘मलाई त साह्रै रिस उठ्यो, साथीहरूकै अगाडि दुई थप्पड हानेँ ।’अर्को पुरुषले हिरोइन भएपछि कुटाइ खाएको रहेछ । ‘मैले हिरोइन भएपछि अर्को एउटालाई कुटेँ, तर म त्यसको नाम भन्दिनँ ।’ उनले भनिन् ।
आफ्नो सफलताका पछाडि पुरुषको हात छ भन्ने लाग्छ । यसको पहिलो जस आफ्नै बुबालाई दिइन्, जसले हक्की हुन सिकाए । दोस्रो जस श्रीमान्लाई, जसले आजसम्म उनको काममा इन्टरफेयर गरेका छैनन् ।
Blogger Comment
Facebook Comment